चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउन कसरत गरेको छ। एमाले अध्यक्ष पदमा निर्वाचित भएपछि बधाई दिन बालकोट पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर जान आग्रह गरेकी हुन्।
गत सोमबार राजदूत यान्छीले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेकी थिइन्। राजदूत यान्छीले नेपालका कम्युनिष्ट शक्तिहरु मिल्नुको विकल्प नभएको अध्यक्ष ओलीलाई सुनाएकी थिइन्। उनले एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर गए आगामी निर्वाचनमा फेरि कम्युनिष्ट पार्टीको बहुमत आउने बताएकी थिइन्। एमालेका एक नेताले अन्नपूर्ण पोस्ट्सँग भने,‘चिनियाँ राजदूतले कम्युनिष्ट शक्तिहरु मिलेर जान आग्रह गर्नुभएको हो। तर अध्यक्षज्युले सो बारेमा खासै जवाफ दिनु भएन।’
राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्। जवाफमा ओलीले आफूले पार्टी विभाजन नगरेको र आफू सधै कम्युनिष्ट एकताको पक्षमा रहेको बताएको ती नेताले अन्नपूर्णसँग भने। अध्यक्ष ओलीले प्रचण्डको कारण नेकपा विभाजन भएको राजदूत यान्छीलाई भनेका थिए। अध्यक्ष ओलीले पार्टी विभाजनको कारक प्रचण्ड भएको र कम्युनिष्ट पार्टी एकताको बारेमा समेत प्रचण्डसँगै सोध्न राजदूत यान्छीलाई आग्रह गरेको स्रोतले बताएको छ।


